काठमाडौँ । अब पाँच करोड रुपियाँ वा सोभन्दा बढी चुक्ता पूँजी तथा दश करोड रुपियाँ वा सोभन्दा बढी कारोबार भएका इन्भेष्टमेन्ट कम्पनीहरू नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सूचिकृत हुनुपर्ने भएको छ ।
सेबोनले यस्ता कम्पनीहरूलाई सूचिकृत गर्नुपर्ने निर्णय भएको शुक्रबार सार्वजनिक सूचनामार्फत यस्तो जानकारी गराएको हो ।
सम्पति सुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७ को उपदफा २ अनुसार समन्वयन समितिको सिफारिसमा पाँच करोड रुपियाँभन्दा धेरै चुक्ता पुँजी भएका र १० करोड रुपियाँ वा सोभन्दा बढी कारोबार गर्ने इन्भेष्टमेन्ट कम्पनीलाई धितोपत्र बोर्डमा सूचीकृत हुन निर्देशन दिइएको हो । बोर्डले विभिन्न विवरण तथा कागजातसहित सूचीकृत हुन सूचनामार्फत निर्देशन दिएको छ ।
सूचिकृत हुनका लागि निवेदन पत्र, सञ्चालक समितिको विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर, सेयरधनी विवरण) र कम्पनीको अद्यावधिक प्रबन्धपत्र तथा नियमाबली अनिवार्य रूपमा पेश गर्नुपर्ने बोर्डले जनाएको छ ।
यस्तै कम्पनीको अद्यावधिक दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (प्यान) दर्ता प्रमाणपत्र, कार्यकारी प्रमुखको विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर), सञ्चालक समितिबाट बोर्डमा सूचिकरणसम्बन्धी निर्णयको प्रतिलिपि चाहिने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।
साथै कम्पनीको सञ्चालक समितिबाट बोर्डमा सूचिकरणका लागि दिइएको अख्तियारी, कम्पनीको वार्षिक कारोबार खुल्ने लेखापरीक्षित वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन, कम्पनीको चुक्ता पूँजी खुल्ने कागजात तथा विवरण पनि आवश्यक पर्ने बोर्डले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *