अक्कल तामाङ ,न्युयोर्क
नेपाली कलासंस्कृतिको प्रवर्द्धन र मानवीय सेवाको भावनालाई एकै ठाउँमा जोड्दै न्युयोर्कमा आगामी नोभेम्बर २० मा विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। नेपालका बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यसहित आयोजना हुन लागेको उक्त कार्यक्रममा चर्चित नेपाली कलाकार तथा सांगीतिक समूहहरूको प्रस्तुति रहनेछ।
‘The Angels – Live in Concert’ नाम दिइएको यस कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय कलाकारहरू नेपथ्य ब्याण्डका पहिलो भोकलिष्ट रबिन श्रेष्ठको साथै हरिश माथेमा, राजु लामा तथा द एन्जल्स ब्यान्डलगायतको विशेष प्रस्तुति रहनेछ। त्यसैगरी DJ Tenjing र गायिका शशिकला मोक्तानले पनि दर्शकलाई मनोरञ्जन प्रदान गर्ने कुरा आयोजक सुर्य सिम्खडाले जानकारी दिनु भएको छ ।
यस कार्यक्रमको सबैभन्दा महत्वपूर्ण पक्ष यसको मानवीय उद्देश्य हो। आयोजक सुर्य सिम्खडाका अनुसार कार्यक्रमबाट संकलित रकमको केही हिस्सा नेपालका रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाढीपीडितहरूको सहयोगका लागि छुट्याइनेछ।
प्राकृतिक विपत्तिले घरपरिवार, जीविकोपार्जन र दैनिक जीवन प्रभावित भएका समुदायलाई अहिले पनि सहयोग र साथको आवश्यकता छ। यस्तो अवस्थामा विदेशमा रहेर पनि आफ्नो मातृभूमि र पीडामा रहेका दाजुभाइ तथा दिदीबहिनीप्रति जिम्मेवारी महसुस गर्नु सकारात्मक र प्रशंसनीय प्रयास हो।
यस पटक कार्यक्रममा सहभागी हुनु केवल सांगीतिक मनोरञ्जन लिनु मात्र होइन, विपत्तिमा परेका नेपाली समुदायप्रति ऐक्यबद्धता जनाउने र मानवीय सहयोगमा आफ्नो योगदान पुर्याउने अवसरसमेत हो, सिम्खडा भन्नु हुन्छ ।
विदेशमा नेपाली भाषा, कला, संगीत र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। विभिन्न पुस्ताका नेपालीलाई एउटै मञ्चमा जोड्ने, कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिने र नेपाली समुदायबीच आपसी सम्बन्ध तथा सद्भाव बलियो बनाउने माध्यमका रूपमा पनि यस कार्यक्रमलाई हेरिएको छ।
कार्यक्रममा नेपाली संगीतका पारखी, परिवार, युवा पुस्ता, सामाजिक अभियन्ता, व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा आयोजकले गरिएको छ।
सहभागी बनौँ, सहयोगको हात बढाऔ, भन्ने मुल नारा लिएर आयोजकले न्युयोर्क तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय, सामाजिक संघसंस्था, व्यवसायी, कलाकार, सञ्चारकर्मी तथा नेपाली संगीतप्रेमीहरूलाई कार्यक्रममा उपस्थित हुन र मानवीय अभियानलाई साथ दिन आग्रह गरेका छन्।
हामीले विदेशमा कमाएको सफलता र खुसीलाई आफ्नो जन्मभूमिका दुःख र पीडासँग जोड्न सक्यौँ भने हाम्रो सामाजिक उत्तरदायित्व अझ सार्थक बन्न सक्छ। विपत्तिमा परेकाहरूलाई सहयोग गर्न ठूलो रकम नै आवश्यक हुँदैन, सानो योगदान, एउटा टिकट खरिद, कार्यक्रममा सहभागिता वा अरूलाई सहभागी हुन प्रेरित गर्ने एउटा सन्देश पनि महत्वपूर्ण हुन सक्छ।
सिम्खडा भन्नु हुन्छ, संगीतले मन जोड्छ, सहकार्यले समाज जोड्छ र मानवीय सहयोगले जीवनमा आशा जगाउँछ।आउनुहोस्, नोभेम्बर २० मा नेपाली संगीतको उत्सवमा सहभागी बनौँ। आफ्नो उपस्थितिलाई मनोरञ्जनमा मात्र सीमित नराखौँ, नेपालका बाढीपीडितका लागि सहयोग र सद्भावको सन्देश पनि बनाऔँ।
कार्यक्रम विवरण:
कार्यक्रम: The Angels – Live in Concert
मिति: नोभेम्बर २०
समय: साँझ ७ बजे
स्थान: The Palace, 63-01 Roosevelt Avenue, Woodside, NY 11377
टिकट: $५०
उद्देश्य: नेपालका रसुवा, नुवाकोट र धादिङका बाढीपीडितलाई सहयोग
थप जानकारी तथा सम्पर्क:
Jangbu Sherpa: (646) 714-9769
Surya Simkhada: (347) 419-5009
Rajesh Hamal: (929) 396-8721