काठमाडौँ । लगातार ओरालो लागिरहेको सेयर बजार अघिल्लो साताको अन्तिम दिन अघिल्लो साता पनि ओरालै लागेर बन्द भयो । तीन दिन मात्रै खुलेको सेयर बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
अर्थमन्त्री पौडेल नेपाल स्टक एक्सचेञ्जको कार्यालय पुगेको दिन सेयर बजारमापक नेप्से परिसूचक चार अंकले ओरालो लाग्दा कारोबार रकम पाँच अर्बमा सीमित भएको छ । निरन्तर सुधारिएर तीन हजारको विन्दुमा पुगेको सेयर बजार ओरालो लाग्ने क्रममा २५ सयको विन्दुमा आइपुगेको छ ।
बुधबार नेप्से ४.०० अङ्कले ओरालो लागेर २५७६.७६ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.१९ अङ्कले ओरालो लागेर ४५९.९२ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको तेस्रो दिनको नेप्से ०.१५ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ०.०४ प्रतिशतले ओरालो लागेको छ ।
समग्रमा यो साता चार प्रतिशत अर्थात नेप्से ११२ अंकले ओरालो लागेको छ । शुरुवातमा २६८८.५३ विन्दुबाट शुरु भएको यो साताको सेयर बजार २५७६ को विन्दुमा झरेको हो ।
उकालो लाग्ने क्रममा दैनिक करिब ३० अर्बको हाराहारीमा कारोबार भएको बजारमा यो साता तीन दिनमा २३ अर्ब ३७ करोड चार लाख रुपियाँभन्दा बढीको पाँच करोड ५८ लाख ६० हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । गत साताको तुलनामा यो साता कारोबार रकम १८ अर्ब ४५ करोड रुपियाँ र कारोबार कित्ता चार करोड १३ लाख ९० हजारले घटेको हो । गत साता पाँच कारोबार दिनमा ४१ अर्ब ८२ करोड ७५ लाख रुपियाँभन्दा बढीको नौ करोड ७२ लाख ५१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।
सार्वजनिक विदाका कारण गत साताको तुलनामा यो साता दुई दिन कारोबार कम भएपछि औसत कारोबार रकम र कित्ता पनि घटेको छ । गत साता औसतमा आठ अर्ब ३६ करोड रुपियाँभन्दा बढीको धितोपत्र कारोबार भएकोमा यो साता औसतमा सात अर्ब ७९ करोड रुपियाँभन्दा बढीको एक करोड ८६ लाख २० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
सेयर बजार ओरालो लागेसँगै कुल बजार पूँजीकरण ४० खर्ब ९७ अर्ब २५ करोड ३६ लाख रुपियाँमा सीमित भएको छ । गत साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण ४२ खर्ब ७४ अर्ब ९७ करोड ७५ लाख रुपियाँ रहेको थियो । गत साताभन्दा यो साता कुल बजार पूँजीकरण एक खर्ब ७७ अर्ब ७२ करोड ३९ लाख रुपियाँले घटेको हो ।
सबै समूहगत परिसूचक ओरालो लागेको यो साता वाणिज्य समूहको परिसूचक सबैभन्दा कम १.७६ प्रतिशतले ओरालो लागेको छ भने वित्त समूहको परिसूचक सबैभन्दा बढी ११.४५ प्रतिशतले ओरालो लागेको छ । यस्तै होटल तथा पर्यटन ६. २ प्रतिशत, लगानी ५.०७ प्रतिशत, लघुवित्त ५.३ प्रतिशत, विकास बैंक ५.२९ प्रतिशत, अन्य ५.१३ प्रतिशत, जीवन बीमा ४.०९ प्रतिशत, उत्पादन तथा प्रशोधन ४.२८ प्रतिशत, व्यापारक ४.०२ प्रतिशत, जलविद्युत ३.०९ प्रतिशत, निर्जीवन बीमा ३.८९ प्रतिशत र म्युचुअल फण्ड २.०६ प्रतिशतले ओरालो लागेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *