प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि रोकिएको धितोपत्र बजार सञ्चालनका लागि अनुमति दिने विषयमा अर्थ समितिमा दुईवटा उजुरी परेका छन् । जेठ ७ गते कास्कीका विनोद तिमील्सिनाको नामबाट ‘धितोपत्र बजार सञ्चालनको सिफारिस प्राप्तिका लागि ४५ दिनको समायावधि तोकि पुनः सूचना गरियोस्’ भन्दै उजुरी परेको छ । त्यस्तै, नेप्से कर्मचारी सङ्घले पनि जेठ ७ गते नै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स सम्बन्धमा उजुरी दर्ता गराएको छ ।
“नेपाल धितोपत्र बोर्डबाट २०७९ चैत ३० गते १० दिनको मात्र म्याद राखी पुनः सूचना प्रकाशित गरिएकाले धितोपत्र बजार सञ्चालनको सिफारिस प्राप्तिका लागि धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस गर्ने सम्बन्धित निर्देशिका २०७९ बमोजिम ४५ दिनकै म्याद राखी पुनः प्रकाशित गरियोस्”, विनोद तिमील्सिनाले दायर गरेको उजुरीमा भनिएको छ ।
नेप्से कर्मचारी सङ्घले दायर गरेको उजुरीमा ‘स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्नका लागि मन्त्रिपरिषद्बाट निर्णय भएपनि धितोपत्र बोर्डबाट हालसम्म सो निर्णय पालना भएको औपचारिक जानकारी नभएको’ उल्लेख छ।