काठमाडौं । कृषि कर्जामा वास्तविक किसानको सुनिश्चित गर्न भन्दै बैंकहरुले मोटर बाटो नभएको जग्गा धितो राखी २० लाखसम्मको कर्जा दिन सक्ने भएका छन् । बैंकहरूले कृषि प्रयोजनका लागि यस्तो कर्जा दिन सक्ने भएका हुन् ।
बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कृषि कर्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार खाद्यान्न उत्पादन, पशुपन्छी तथा मत्स्यपालन जस्ता कार्यको लागि २० लाख रुपियाँसम्मको कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गर्न सक्ने भएका हुन् ।
यस्तो कर्जाको लागि निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । यदि स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारणसमेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रूपमा जवाफ दिनुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
राष्ट्र बैंकले जारी गरेको वित्तीय चेतना सम्बन्धी सूचनामा भनिएको छ, “बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कृषि कर्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्ने उद्देश्यले खाद्यान्न उत्पादन, पशुपन्छी तथा मत्स्यपालन जस्ता कार्यको लागि रू.२० लाखसम्मका कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गर्न सक्ने र बैंक तथा वित्तीय संस्थाको शाखाले यस प्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारणसमेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रूपमा जवाफ दिनुपर्ने व्यवस्था रहेको छ । यस निर्देशनको पालना नभएको अवस्थामा कर्जा प्रदान गर्ने संस्था वा नेपाल राष्ट्र बैंकमा गुनासो दर्ता गर्न सकिन्छ ।”