काठमाडौं । सूचीकृत कम्पनीहरुलाई नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ। बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरुको सूचना, जानकारी तथा विवरण प्रवाहलाई व्यवस्थित गर्न धितोपत्र सम्बन्धी कानूनमा बिभिन्न व्यवस्थाहरु गरिएकोमा सबै संगठित संस्थाहरुबाट उक्त व्यवस्थाहरूको पूर्ण पालना भएको नदेखिएकोले निर्देशन जारी गरेको बोर्डले पत्रमा खुलाएको छ ।
बोर्डले सम्पूर्ण सूचीकृत संगठित संस्थाहरुलाई देहाय अनुसारको सूचना, जानकारी तथा विवरण समयमा नै पेश÷प्रवाह गर्नु अनुरोध गर्दै सो बमोजिम नगरेमा आगामी दिनमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ बमोजिम कारबाही तथा जरिवाना गरिने चेतावनी दिएको छ।
चार बुँदे निर्देशनहरु यस्ता छन् –
१. बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरुले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लेखित विवरणहरु सो त्रैमासिक अवधि समाप्त भएको तीस दिनभित्र बोर्ड समक्ष पेश गर्ने र त्यस्तो प्रतिवेदन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेछ ।
२. बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरुले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १५ बमोजिमको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले पाँच महिना भित्र बोर्डमा पेश गर्नुपर्नेछ । साथै, सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को दफा २० को उपदफा ९४० बमोजिम अनुपालना प्रतिवेदनको मुख्य मुख्य बुँदाहरु सहितको प्रमाणित सारांश वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्नेछ ।
३. धितोपत्र सूचीकरण गराएका संगठित संस्थाहरुले सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने सूचना धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १६ मा उल्लेखित कुनै घटना वा कारोबार भएमा त्यस्तो बिषयको सूचना तत्काल धितोपत्र बजारमा दिई तीन दिनभित्र बोर्डमा पेश गर्नुपर्नेछ ।
४. धितोपत्र सम्बन्धी कानूनमा उल्लेख भएका यस्ता अन्य सूचना, जानकारी तथा विवरणहरु उल्लेखित समयमा नै पेश गर्नुपर्नेछ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *