काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप उपसंयोजक दयानिधि सापकोटाले सोमबार केन्द्रीय सचिव पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ ।
एनआरएनए केन्द्रीय कार्यालयमा पूर्वसल्लाहकार विश्व आदर्श पण्डितको प्रस्तावमा उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो । अब औपचारिक रुपमा उहाँ चुनावी मैदानमा होमिनुभएको छ ।
कात्तिक २ गते हुने निर्वाचनका लागि सोमबार (असोज २९ गते) बिहान ८ देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समयसीमा रहेको थियो ।
विश्वभरका प्रतिनिधिहरुको सकारात्मक प्रतिक्रियाले आफू निकै आशावादी भएको उहाँको भनाइ छ ।
सापकोटाले पारदर्शी संगठन, एकताबद्ध एनआरएनए, सबल सचिवालय, जवाफदेही संस्था र गैरआवासीय नेपालीहरुको हकहित, अधिकार प्रवर्धनका लागि विश्वभर रहेका नेपालीहरुबीच भाइचारा, आत्मियता एवं संगठनात्मक एकताजस्ता एजेन्डा अघि सार्नुभएको छ । आईसीसी सदस्य हुँदै युरोप उपसंयोजकको जिम्मेवारी सम्हालिसकेका सापकोटाले समस्त मतदातासमक्ष यसपटक पनि मत दिएर जिताउन अपिल गर्नुभएको छ ।
बाग्लुङ जिल्लाको काठेखोला गाउपालिका बिहुँकोट ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट जन्मिएका दयानिधि स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट बीकम अध्ययन गर्दै गर्दा सन् १९९३ मा जर्मनी पुग्नुभएको थियो ।
अध्ययनका क्रममा जर्मनी गएका सापकोटाले त्यहाँ युरोपेली रहनसहन, भाषा, खाना र जीवनशैली अनुभव गर्दै इटालियन सेफ हुँदै २८ वर्षकै उमेरमा जर्मनीमा पहिलो रेष्टुरेन्ट खोल्नुभएको थियो । उहाँको पाँच विभिन्न भाषामा दख्खल छ ।
करिब १५ वर्ष जर्मनीमा बिताएपछि उहाँ सन् २००६ मा बेलायत पुग्नुभएको थियो । सापकोटा अहिले यहाँ रेस्टुरेन्ट व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँ सफल व्यवसायी मात्र होइन, सामाजिक सेवाको क्षेत्रमा पनि अब्बल मानिनुहुन्छ ।