काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब ५० करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो रकम वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकले वाणिज्य बैंकमा एक अर्ब २० करोड, विकास बैंकमा २२ करोड ५० लाख र फाइनान्स कम्पनीमा सात करोड ५० लाख रुपियाँ गरी कुल एक अर्ब ५० करोड रुपियाँ लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकले २०८१ असोज ४ गतेदेखि २०८२ असोज ४ गतेसम्म ३६६ दिनका लागि बैंक तथा वित्तीय संस्थाहरुको मुद्दतीमा उक्त रकम राख्न लागेको हो । मुद्दती निक्षेप लिनका लागि निष्क्रिय कर्जा पाँच प्रतिशत भन्दा कम भएको, कर्जा निक्षेप अनुपात निर्धारित सीमाभित्र रहेको, न्यूनतम पूँजीकोष अनुपात कायम रहेको लगायतका सर्त पुगेका बैंक तथा वित्तीय संस्थाले प्रस्तावित व्याजदर र मुद्दतीमा लिन चाहेको रकम उल्लेख गरी आवेदन दिन सकिने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्ने तथा तोकिएको न्यूनतम पूँजी कोष कायम हुनुपर्ने सर्त राष्ट्र बैंकले राखेको छ ।
यस्तै, मुद्दती निक्षेप लिनका लागि निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने शर्त छ ।
कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पुरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको सेयर जारी गरिसकेको हुनुपर्ने जस्ता शर्तहरु राष्ट्र बैंकले राखेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *