काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा कुल आन्तरिक कर्जा ०.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.३ प्रतिशतले घटेको थियो ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार वार्षिक बिन्दुगत आधारमा २०८१ साउन मसान्तमा यस्तो कर्जा ७.७ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ७.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १३.८ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ साउन मसान्तमा यस्तो दाबी १२.२ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ०.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ०.३ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ साउन मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.५ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४३ अर्ब ४५ करोड (०.७ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.१३३ अर्ब २४ करोड (२.३ प्रतिशत) ले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षको साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.० प्रतिशत, ३०.३ प्रतिशत र ५७.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.० प्रतिशत, २६.७ प्रतिशत र ६१.३ प्रतिशत रहेको थियो । गत साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.९ प्रतिशत रहेको छ । २०८० साउन मसान्तमा यस्तो निक्षेपको अंश ३५.२ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १४ अर्ब ११ करोड (०.३ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा चार अर्ब ३५ करोड (०.१ प्रतिशत) ले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको छ ।
गत साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.४ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.३ प्रतिशतलेर वित्त कम्पनीहरुको कर्जा प्रवाह १.१ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको कर्जा प्रवाह ०.३ प्रतिशतले घटेको छ ।
गत साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये १३.३ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६६.३ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०८० साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.१ प्रतिशत र ६७.१ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८१÷८२ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.५ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०.१ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.६ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.६ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ०.१ प्रतिशतले बढेको छ भने निर्माण क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशतले र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ०.३ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १.५ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ९.४ प्रतिशतले, हायर पर्चेज कर्जा ०.०३ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ०.१ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ३ प्रतिशतलेर नगद प्रवाह कर्जा ०.२ प्रतिशतले घटेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *