काठमाडौँ । सेयर बजारमा हुने अस्वाभाविक उतारचढाव न्यूनीकरण गरी स्थिरता ल्याउने उद्देश्यले स्थापित ‘नागरिक स्टक डिलर कम्पनी लिमिटेड’ ले मङ्गलबारदेखि स्थापनाको पाँच वर्ष पूरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ ।
कम्पनीको मङ्गलबार राजधानीमा आयोजित पाँचौ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सञ्चालक समितिका सदस्य एवम नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले मुलुकको पहिलो स्टक डिलर कम्पनीका रुपमा रहेको कम्पनीले आगामी दिनमा पनि धितोपत्र बजारमा अग्रणी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
जोखिमयुक्त धितोपत्र बजारमा स्थिरता ल्याउन स्टक डिलर कम्पनीको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले लगानीकर्तामा साक्षरता, तालिमका साथै कम्पनीको सुशासनलाई जोड दिन आग्रह गर्नुभयो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले बजारमा साना लगानीकर्ताको बाहुल्यता र संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको, संस्थागत लगानीकर्ताको अभाव पूर्ति गर्ने, अध्ययन र अनुसन्धान मार्फत गरिने सुझबुझपूर्ण लगानीबाट नागरिक स्टक डिलर सञ्चालनमा आएको जानकारी दिनुभयो ।
धितोपत्र दलाल व्यवसायबाट हालसम्म दुई हजार भन्दा बढी ग्राहक कम्पनीसँग जोडिएको जानकारी दिँदै उहाँले भन्नुभयो – ‘‘समग्र बजारमा हुने कारोबारमा औषतमा करिब तीन प्रतिशतको हाराहारीमा उपस्थिति बनाउन सकेका छौ । त्यसैगरी पुँजीबजार सम्बद्ध हरेक सेवाहरु एकै छानाबाट उपलब्ध गराउने उद्देश्य अनुरुप आ.व. २०८०÷८१ बाट निक्षेप सदस्यको अनुमति प्राप्त गरी हालसम्म करिब ११ सय ग्राहकलाई सेवा प्रदान गर्न सफल भएका छौ ।’’
कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्य नेपाल पूनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा, सञ्चालक समिति सदस्य नेपाल नायब प्रवन्ध निर्देशक दुरसञ्चार कम्पनी लिमिटेडका प्रमुख वित्त अधिकृत राजेन्द्र श्रेष्ठ, कम्पनीका उपमहाप्रबन्धक कृष्णजंग थापालगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा धितोपत्र दलाल मार्फत सबैभन्दा बढी कारोबार गर्ने ग्राहकहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन कम्पनीका प्रशासन अधिकृत महेन्द्र नारायण जोशीले गर्नुभएको थियो ।
पूँजीबजारमा गतिशीलता आई बजारको विकास तथा स्थायित्वमा भुमिका खेल्ने अपेक्षा सहित आ.व. २०७७÷७८ को बजेट वक्तव्यमा पूँजी बजारमा संस्थागत लगानी अभिबृद्धि गर्न स्टक डिलर सञ्चालनमा ल्याउने नेपाल सरकारको रणनीति अनुरुप नेपाल सरकारको अधिकाँश लगानी रहेका संस्थाहरु नागरिक लगानी कोष, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड र नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको अगुवाइ रहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *