काठमाडौँ । अवकाश तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न र पुँजी बजारमा गतिशीलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोष स्थापनाको ३५औं वर्षमा प्रवेश गरेको छ ।
कोषको सोमबार राजधानीमा आयोजित ३५औं वार्षिकोत्सव समारोहमा बोल्दै अर्थसचिव घनश्याम उपाध्यायले कोषको रकम नागरिकको हितका लागि उपयोग गर्न सुझाव दिनुभयो ।
नागरिकको हितका लागि कोषको लगानीलाई उत्पादनशील क्षेत्रमा लगाउनुपर्नेमा जोड दिंदै उहाँले नेपाल सरकारका प्राथमिकताका क्षेत्रहरुमा अघि बढाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
सञ्चयकर्ताको हित सँगसँगै नामअनुसार नागरिकको बचत परिचालन, सामाजिक सुरक्षाका कार्यक्रमहरु अघि बढाउन कोषको प्राथमिकता र लगानीलाई उत्पादनशील क्षेत्रमा प्रयोग गरेर मुलुकको समग्र अर्थतन्त्रलाई योगदान दिन जरुरी रहेको उहाँको भनाई थियो ।
नागरिक लगानी कोष सञ्चालक समितिका अध्यक्ष डा.सूर्यबहादुर थापाले देशमा दिगो, सन्तुलित, फराकिलो र समावेशी आर्थिक बृद्धि तथा विकास हासिल गर्न कोषले राष्ट्रिय पूँजी निर्माणमा टेवा पु-याउनेतर्फ पनि काम गरिरहेको बताउनुभयो ।
मुलुकको समृद्धि र अर्थतन्त्रको विकासका लागि सरकारले आत्मसात गरेको प्रतिबद्धतामा कोषले पनि आफ्नो तर्फबाट सहयोग गर्दै आइरहेको भन्दै उहाँले लगानीका लागि नवीन वित्त मोडलको सिर्जना गरी कोषले जोखिम कम भएको क्षेत्रमा लगानी विविधीकरण गर्दै आइरहेको बताउनुभयो ।
चालु आवको पुस मसान्तसम्म कोषले सञ्चालनमा रहेका आयोजनाहरुको दुई खर्ब ७३ अर्ब ७२ करोड खुद कोष मौज्दात रहेको उहाँले जानकारी गराउनुभयो । यस अवधिमा दुई खर्ब ६४ करोड ७८ लाख लगानी गरेको अवस्था रहेको उहाँको भनाई थियो ।
कोषका कार्यकारी निर्देशक पर्वत कमार कार्कीले चालू आर्थिक वर्षको पुस मसान्तसम्म कोषले दुई खर्ब ६४ अर्ब ७७ करोड रुपियाँ लगानी गरेको बताउनुभयो । कुल लगानीमध्ये मुद्दती निक्षेपमा करिब ५२ प्रतिशत तथा नेपाल सरकारको ऋणपत्रमा ०.१९ प्रतिशत, समयकालीन कर्जामा ९.७४, सहायक कम्पनीमा १.०३, सहभागी सापटी तथा आवास कर्जामा २०.७५, ट्र्ेजरी बीलमा ४.४४, संगठित संस्थाको सेयर-धितोपत्रमा ११.६७ प्रतिशत लगानी रहेको जानकारी दिनुभयो । आगामी दिनमा सरकारी प्राथमिकताका भौतिक पूर्वाधारका परियोजना, कृषि, पर्यटनलगायतका उत्पादनशील क्षेत्रमा तथा पुँजी बजारका क्षेत्रमा लगानी बढाउँदै लैजाने योजना रहेको उहाँले बताउनुभयो ।
कोषले पूँजी बजारको विकासमा सघाउ पु-याउन मर्चेन्ट बैङ्करको सेवा प्रदान, पुँजी बजारका विभिन्न उपकरणमा लगानी, दोस्रो बजारमा कारोबार र सहायक कम्पनीका रूपमा स्थापित नागरिक स्टक डिलर मार्फत समेत कार्य गरिरहेको उहाँले बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका कोषहरुको लगानी पूर्वाधार निर्माण, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन, हाइड्रोपावरलगायतका क्षेत्रमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । कोषहरुको करिव ५२ प्रतिशत भन्दा बढी रकम बैङ्क तथा वित्तीय संस्थाहरुमा फिक्स डिपोजिटको रुपमा रहेको भन्दै यसको उपयोग रोजगारी सिर्जना, विकास निर्माणका क्षेत्रमा गर्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा कोषमा लामो समय योगदान गर्ने कर्मचारीलाई दीर्घ सेवा पदक वितरण गरिएको थियो भने उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।
प्रजातन्त्रको पुनर्वहालीसँगै २०४७ चैत ४ गते स्थापना भएको नागरिक लगानी कोष सोमबारदेखि ३४ वर्ष पूरा गरी ३५औं वर्षमा प्रवेश गरेको छ । आर्थिक विकासका लागि पुँजीको बचत गर्न प्रोत्साहन गरी लगानीको अवसर बढाउन, अवकाश तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न र पुँजी बजारमा गतिशीलता ल्याउन आवश्यक कार्य गर्नेगरी स्थापित कोषले बचत सङ्कलनका लागि कर्मचारी बचत बृद्धि अवकाश कोष, उपदान तथा पेन्सन योजना, लगानीकर्ता हिसाब योजना, राष्ट्रसेवक कर्मचारी जीवन बीमा कोष, नागरिक एकाङ्क योजना, नागरिक पेन्सन योजना र नेपाल कृषि अनुसन्धान परिषद् बीमा कोष लगायतका कार्यक्रम तथा योजनाहरू सञ्चालन गरिरहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *