काठमाडौँ । अबदेखि नेपालको चार्टर्ड एकाउन्टेन्सी शिक्षामा नयाँ पाठ्यक्रम लागु गरिने भएको छ । चार्टर्ड एकाउन्टेन्सी शिक्षालाई अझ सान्दर्भिक तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले नेपालमा नयाँ पाठ्यक्रम लागु गरिन लागेको हो ।

लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले लेखाव्यवसायको एक अग्रणी संस्था आइसीउइडब्लुसँगको प्राविधिक सहकार्यमा नयाँ पाठ्यक्रम विकास गरेको हो ।

यसरी विकास गरिएको नयाँ पाठ्यक्रम चार्टर्ड एकाउन्टेन्सी शिक्षाको पहिलो, दोस्रो र तेस्रो तहका लागि क्रमशः डिसेम्बर २०२५, डिसेम्बर २०२६ र जुन २०२८ बाट लागु गरिने भएको छ ।

चार्टर्ड एकाउन्टेन्सी शिक्षाको नयाँ पाठ्यक्रम लेखा व्यवसायको सर्वोच्च निकाय आइएफएसीबाट जारी भएको अन्तर्राष्ट्रिय शिक्षा मापदन्ड अनुरुप विकास गरिएको आइक्यानले जनाएको छ ।

लर्निङ अब्जेटिभ तथा टेक्निकल नलेज ग्रिडको अवधारणा अनुरुप विकास गरिएको यस पाठ्यक्रममा आइइएसको मापदण्ड अनुरुप लेखा क्षेत्रका महत्वपूर्ण पक्षहरु संहिता, दीगोपना, प्रविधि र सार्वजनिक वित्त व्यवस्थापन लगायतका विषयवस्तुहरु हरेक विषयको सान्दर्भिकता अनुसार समावेश गरिएको बताइएको छ ।

आइसीउइडब्लुसँगको प्राविधिक सहकार्यमा नयाँ पाठ्यक्रम बमोजिम विकास गरिएको उच्च गुणस्तरीय पाठ्यपुस्तकहरुले समग्र चार्टर्ड एकाउन्टेन्सी शिक्षाको गुणस्तर अभिबृद्धि हुने अपेक्षा रहेको आइक्यानका अध्यक्ष सीए प्रविण कुमार झाले बताउनुभयो ।

नयाँ पाठ्यक्रम लागु भए पश्चात् देशलाई आवश्यक दक्ष लेखाव्यवसायी उत्पादन भई देशको समग्र लेखाव्यवसाय क्षेत्रको विकासमा टेवा पुग्ने तथा संस्थाका सदस्यहरुको अन्तर्राष्ट्रिय पहिचान तथा प्रतिस्पर्धी क्षमतामा समेत उल्लेखनीय रुपमा बृद्धि हुने विश्वास लिइएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपालमा लेखाव्यवसायको विकास, संरक्षण, संवद्र्धन तथा नियमन गर्नका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तरगत स्थापित नियमनकारी निकाय हो । यस संस्थाले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ को व्यवस्था बमोजिम सन् १९९९ देखि चार्टर्ड एकाउन्टेन्सी शिक्षा प्रदान गर्दै आएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *