काठमाडौं । देशभरका उत्कृष्ट १४ जना कृषकलाई ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशका प्रतिनिधित्व गर्ने गरी प्रत्येक प्रदेशबाट दुई–दुई जना कृषकलाई सम्मानसहित नगद पुरस्कार प्रदान गर्नुभयो ।
कार्यक्रम कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सञ्चालन गरिएको हो । पुरस्कृत कृषकहरूलाई जनही दुई लाख रुपैयाँ प्रदान गरिएको छ ।
पुरस्कृत कृषकहरूमा कोशी प्रदेशबाट सुरेश कुमार मेहता (आर्य कृषि फर्म), रमेश साह (रमेश कृषि फर्म) हुनुहुन्छ । यस्तै मधेश प्रदेशबाट भरत कुमार यादव (शम्भुनाथ माछा फर्म), हिरा बहादुर थापा मगर (निजगढ केरा एग्रीकल्चर) तथा बागमती प्रदेशबाट चेत प्रसाद ढकाल (कालिका पशु विकास केन्द्र), दयाराम मचामसि (ग्रीनलाइन एग्रो प्रालि) पुरस्कृत हुनुभएको छ ।
यस्तै गण्डकी प्रदेशबाट छिरिङ ढोका गुरुङ (ङवाङ हिसी अर्गानिक फर्म), बाटुली तिवारी (मित्र वाटिका कृषि फर्म) र लुम्बिनी प्रदेशबाट जयपाल मौर्य (खाध्यन्न वाली), सुवास कुर्मी (शान्ती उन्नत पशुपालन तथा माछा फर्म) र कर्णाली प्रदेशबाट गोविन्द ओली (तरकारी खेती), भरतनाथ योगी (सुन्तला खेती) पुरस्कृत हुनुभएको छ ।
सुदूरपश्चिम प्रदेशबाट प्रेमप्रसाद जोशी (खप्तड पशुपन्छी तथा कृषि फर्म), लोकबहादुर थापा (कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्रालि) हुनुहुन्छ ।
पुरस्कार प्रदान गर्दै राष्ट्रपति पौडेलले कृषि क्षेत्रलाई समृद्ध नेपालको मेरुदण्डका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले युवा केन्द्रित स्टार्टअप कार्यक्रमहरू सञ्चालन गरी विदेशबाट फर्केका युवाहरूलाई कृषिमा आकर्षित गर्न वातावरण निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले कृषकको उत्पादनको बजारीकरण, समयमै बीउ, मलको आपूर्ति, प्रविधि, सहुलियतपूर्ण कर्जा र कृषि बीमा जस्ता सेवाहरूलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो। “कृषिमा शिक्षित युवाहरूको आकर्षण बढ्दो छ, नविनतम प्रविधिको प्रयोग भइसकेको छ, र कृषिको माध्यमबाट लाखौं आम्दानी गर्न सकिने उदाहरणहरू स्थापित भइसकेका छन्,” राष्ट्रपति पौडेलले भन्नुभयो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम देशभरका कृषकहरूका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो । “हाम्रा कृषकहरूको पसिनाले राष्ट्रको भान्सा भरिएको छ, खाद्य सुरक्षाको आधार बनेको छ,” मन्त्री अधिकारीले भन्नुभयो ।
उहाँले कृषि पेशालाई आत्मसम्मान, सम्भावना र आधुनिकताको प्रतीकको रूपमा विकास गर्नुपर्ने उल्लेख गर्दै युवाहरू, महिलाहरू र साना कृषकहरूको सहभागिता बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । मन्त्री अधिकारीले कृषि क्षेत्रमा नवप्रवर्तन, प्रविधिको प्रयोग, र किसानमुखी सेवा प्रवाहलाई अझ प्रभावकारी र समावेशी बनाउने सरकारको प्रतिबद्धता पुनः दोहो-याउनुभयो ।
पुरस्कारले कृषकहरूको योगदानलाई राष्ट्रले उच्च सम्मान गर्ने संस्कार बसाल्नेछ। साथै, कृषि पेशालाई आधुनिक, आत्मनिर्भर र आर्थिक समृद्धिको आधार बनाउँदै समाजमा सकारात्मक धारणा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने सरकारको अपेक्षा छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *