न्युयोर्क, अमेरिका — नेपाली मूलका समाजसेवी तथा दीर्घकालीन सामुदायिक अभियन्ता सोमनाथ घिमिरेले न्युयोर्क राज्य सभासद (New York State Assembly), जिल्ला ३० का लागि औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। उनले आगामी जनवरी ११, २०२६, साँझ ६:३० बजे, क्वीन्सको वुडसाइडस्थित गुलशन टेरेसमा आयोजना हुने विशेष सार्वजनिक कार्यक्रममा आफ्नो उम्मेदवारी व्यक्तिगत रूपमा घोषणा गर्ने भएका छन्।
विराटनगर–३ (पूर्व) नेपालका स्थायी बासिन्दा घिमिरे सन् १९९६ देखि वुडसाइडमा बसोबास गर्दै आएका छन्। दुई दशकभन्दा बढी समयदेखि उनी नेपाली अमेरिकी, दक्षिण एसियाली तथा बहुसांस्कृतिक समुदायको हकहितका लागि निरन्तर सामाजिक, मानवीय र नागरिक अधिकारका क्षेत्रमा क्रियाशील छन्।
क्वीन्सलाई सबैका लागि न्यायपूर्ण र अवसरयुक्त बनाउने प्रतिबद्धता
उम्मेदवारी घोषणासँगै घिमिरेले क्वीन्सलाई सबै परिवारका लागि सुरक्षित, न्यायपूर्ण र अवसरयुक्त स्थान बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। उनका मुख्य प्राथामिकता सहुलियत पुर्ण आवासको पहुँच, गुणस्तरीय सार्वजनिक शिक्षा, श्रमिक अधिकारको संरक्षण, प्रवासी, अल्पसंख्यक र उपेक्षित समुदायको समावेशी प्रतिनिधित्व रहेका छन्। “क्वीन्स विविधताको शक्ति हो। यहाँ बस्ने प्रत्येक समुदायको आवाज राज्य सभामा पुग्नैपर्छ,” घिमिरेको भनाइ छ।
अनुभवी सामुदायिक नेतृत्व र अन्तर्राष्ट्रिय पहिचान
घिमिरे केवल राजनीतिक आकांक्षी मात्र होइनन्, उनी परीक्षित र अनुभवी सामुदायिक नेता हुन्। उनले सन् २०२० को अमेरिकी जनगणनामा फिल्ड सुपरभाइजरको जिम्मेवारी सम्हाल्दै समुदायलाई सही प्रतिनिधित्व दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
उनको मानवीय र सामाजिक योगदानको अन्तर्राष्ट्रिय स्तरमा पनि कदर भएको छ। अक्टोबर २८, २०२३ मा घानाको आक्रामा सम्पन्न ४८ देशहरूको सहभागिता रहेको विश्व मानव अधिकार सम्मेलनमा उनले Global Humanitarian Leadership Award प्राप्त गरे। यस अवार्डलाई प्राप्त गर्ने उनी पहिलो नेपाली अमेरिकी बनेका थिए। यसका साथै,
- South Asian Democratic Club (NY) बाट South Asian Community Activist Award 2024,
- Asian American Pacific Islander New York – Queens Chapter बाट Community Leadership Award 2025
जस्ता प्रतिष्ठित सम्मानहरू प्राप्त गरिसकेका छन्।
समुदायबाट समुदायसम्म चिनिएका नेता
सोमनाथ घिमिरे न्युयोर्क राज्य मात्र होइन, राज्य बाहिरसम्म पनि विश्वसनीय, निडर र समर्पित सामुदायिक अभियन्ताका रूपमा परिचित छन्। उनी संकटको समयमा समुदायसँग उभिने, नीति निर्माणमा समुदायको आवाज बुलन्द गर्ने र दीर्घकालीन समाधान खोज्ने नेताका रूपमा चिनिन्छन्।
नयाँ इतिहास र समावेशी नेतृत्वको अपेक्षा
न्युयोर्क राज्य सभासद, जिल्ला ३० को यो उम्मेदवारीलाई धेरैले प्रवासी समुदायको राजनीतिक प्रतिनिधित्वमा ऐतिहासिक अवसरको रूपमा हेरेका छन्। घिमिरेको उम्मेदवारीले क्वीन्सको बहुसांस्कृतिक पहिचानलाई राज्यस्तरको नीति निर्माणमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ। आगामी दिनहरूमा अभियानका विस्तृत कार्यक्रम, नीति प्रस्ताव र जनसंवादका कार्यक्रमहरू सार्वजनिक गरिने जनाइएको छ।