काठमाडौं । हरितालिका तीजलाई केबल सांस्कृतिक पर्वमा सीमित नराखी महिला उद्यमीबीच व्यावसायिक नेटवर्किङ, मेन्टरसिप र सहकार्यको अवसरका रूपमा विकास गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ अन्तरगतको केन्द्रीय महिला उद्यमी समितिले नयाँ पहल अघि सारेको छ । महिला उद्यमशीलता र आर्थिक सशक्तिकरणलाई प्राथमिकतामा राख्दै हरितालिका तीजलाई ‘महिला उद्यमी नेटवर्किङ दिवस’का रूपमा मनाउने घोषणा गरिएको हो । महासंघअन्तरगतको केन्द्रीय महिला उद्यमी समितिले ७७ वटै जिल्लामा महिला उद्यमीको सञ्जाल विस्तार गर्ने लक्ष्यसमेत अघि सारेको हो । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित महिला उद्यमी नेटवर्किङ दिवस, शुभ–कामना आदान प्रदान तथा महिला उद्यमशिलता विषयक वुधबार महासंघको सचिवालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै केन्द्रीय महिला उद्यमी समितिका अध्यक्ष रिता अवालले तीजलाई केबल परम्परागत पर्वमा मात्र सीमित नराखी उद्यमी महिलाहरूको व्यावसायिक नेटवर्किङ र विकासको मञ्च बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले ७७ वटै जिल्लामा महिला उद्यमीहरूको सञ्जाल विस्तार गर्ने र हाल २२ जिल्लामा सक्रिय रहेको समितिलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । महिला उद्यमीहरूले भोग्नुपरेका चुनौतीहरू जस्तै— पूँजीको अभाव, बजारसम्मको पहुँच, सूचना प्रवाहमा समस्या र दक्ष जनशक्तिको कमीबारे उहाँले चर्चा गर्नुभएको थियो । अध्यक्ष अवालले अब महिलाहरूलाई उद्यम गर्न प्रेरित मात्र गर्ने नभई, उनीहरूले उत्पादन गरेका वस्तुको गुणस्तर सुधार, प्याकेजिङ्ग, ब्रान्डिङ्ग र डिजिटल मार्केटिङमार्फत अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक सहयोग गर्ने कुरामा जोड दिनुभयो । समितिले अबदेखि हरितालिका तीजलाई ’महिला उद्यमी नेटवर्किङ दिवस’का रूपमा मनाउने घोषणा गरेको भन्दै उहाँले यसले सफल उद्यमी र नयाँ उद्यमीहरूबीच मेन्टरसिप (अनुभव साटासाट) गर्ने र सहकार्यको वातावरण सिर्जना गर्ने विश्वास लिइएको बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासंघकी अध्यक्ष शोभा गुरुङले महिला उद्यमीहरूले अबको समयमा प्रविधि र डिजिटल प्रणालीलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो । विक्रम संवत २०४७ सालमा स्थापना भएको महासंघ र २०५१ सालमा गठन भएको केन्द्रीय महिला उद्यमी समितिको योगदानको चर्चा गर्दै सुरुवाती दिनहरूमा महिलाहरूलाई घरबाहिर निस्केर उद्योग सञ्चालन गर्न निकै कठिन रहेको स्मरण गर्दै उहाँले अग्रज दिदीबहिनीहरूको संघर्षले नै आज महिला उद्यमीहरूको बलियो संगठन निर्माण भएको बताउनुभयो । महासंघका निवर्तमान अध्यक्ष उमेशप्रसाद सिँहले महासंघको वर्तमान उचाइ र महिला नेतृत्व विकासमा संस्थाले लामो संघर्ष गरेको बताउनुभयो । संस्थाको स्थापनाकालदेखि हालसम्मको उतारचढावबारे चर्चा गर्दै उहाँले महासंघ स्थापना गर्दाका दिनहरू स्मरण गर्दै भन्नुभयो, “हामीले गुन्द्रीमा बसेर यो संस्थाको जग बसालेका हौं । त्यतिबेला महिलाहरूलाई घरबाट बाहिर निकालेर नेतृत्वमा ल्याउनु ठूलो चुनौती थियो । हामीले घर–घरमा पुगेर दिदीबहिनीहरूलाई उद्यमी बन्न र नेतृत्व लिन प्रेरित गरेका थियौं ।“ कार्यक्रममा केन्द्रीय महिला उद्यमी समितिका पूर्व अध्यक्षहरु मनु केसी, अञ्जना ताम्राकार, लता प्याकुरेल, रोशनी उपाध्यायलाई सम्मान गरिएको थियो । सो अवसरमा केन्द्रीय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष शान्ति शर्मा, महासचिव सुलोचना श्रेष्ठ, महासंघका वरिष्ठ उपाध्यक्ष डम्बर प्रसाद रेग्मी, उपाध्यक्षद्धय सत्यनारायण प्रजापति र मोहन कटुवाल, महासचिव विनोददेव पन्त, कोषध्यक्ष विरेन्द्र जत्तिलगायतले बोल्नुभएको थियो ।