काठमाडौं । गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल शिवम् प्लाजामा सम्पन्न भएको छ।
क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा एसिया रग्वीका उपाध्यक्ष, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव तथा नेपाल रग्वी संघका संस्थापक अध्यक्ष टंकलाल घिसिङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा नेपाल रग्वी संघका अध्यक्ष दीपक देवकोटा, वरिष्ठ अध्यक्ष चेतन राजगिरी, महासचिव गोविन्द घिमिरे, कोषाध्यक्ष दीपक अधिकारी तथा रग्वी एजुकेटर टंकराज गिरीलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, गोर्खाली रग्वी क्लबका उपाध्यक्ष कृष्ण क्षेत्री, सार्दुल श्रेष्ठ, कोषाध्यक्ष श्रीराम श्रेष्ठ, क्लबका सदस्य राधिका शाक्य, ज्योती श्रेष्ठ तथा अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बागमती प्रदेश रग्वी संघका सचिव अनन्त श्रेष्ठसहित विभिन्न क्लब तथा प्रदेशबाट आएका प्रतिनिधि र क्लबका खेलाडीहरूको समेत उपस्थिति रहेको थियो।
साधारण सभाले क्लबमा तीन जना नयाँ सदस्यसमेत मनोनयन गरेको छ। नयाँ सदस्यमा सन्तोष श्रेष्ठ, तारा तामाङ र विवेश बाशु नियुक्त भएका छन्। साधारण सभामा क्लबले हालसम्म सञ्चालन गरेका कार्यक्रम तथा प्रतियोगिताहरूको समीक्षा गर्दै आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरिएको थियो। क्लबले आगामी दिनमा विभिन्न विद्यालयमा रग्वी प्रशिक्षण सञ्चालन गर्ने, गोर्खाली रग्वी सेभेन्स प्रतियोगिता तथा गोर्खाली रग्वी फेस्टिभल आयोजना गर्ने योजना अघि सारेको छ।
त्यस्तै, क्लबका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप अवसर प्रदान गर्ने उद्देश्यले विभिन्न अन्तर्राष्ट्रिय रग्वी प्रतियोगितामा सहभागिता जनाउने लगायतका कार्यक्रमहरू पनि आगामी कार्ययोजनामा समेटिएको क्लबका सचिव प्रेम कोइरालाले जानकारी दिए। सचिव कोइरालाका अनुसार विद्यालयस्तरदेखि नै रग्वी खेलको विकास र विस्तार गर्दै नयाँ प्रतिभाको पहिचान तथा खेलाडी उत्पादनमा क्लबले आगामी दिनमा थप सक्रियताका साथ काम गर्नेछ।