काठमाडौँ । उतारचढावमा रहेको सेयर बजार आर्थिक वर्षकै अन्तिम दिन भने दोहोरो अंकले सुधारिएर बन्द भएको छ ।
आइतबार सेयर बजारमापक नेप्से परिसूचक १२.१६ अङ्कले उकालो लागेर २०९७.०९ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि २.९० अङ्कले उकालो लागेर ३९४.१५ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा वर्षकै अन्तिम दिनको नेप्से ०.५८ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ०.७४ प्रतिशतले उकालो लागेको छ ।
उतारचढावमा रहेको सेयर बजार अघिल्लो कारोबार दिन अर्थात साताको अन्तिम दिन ओरालो लागेर बन्द भएको थियो । बिहीबार नेप्से परिसूचक १२.६२ अङ्कले ओरालो लागेर २०८४.९६ को बिन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि ०.९० अङ्कले ओरालो लागेर ३९१.२५ को बिन्दुमा पुगेर रोकिएको थियो । समग्रमा बिहीबारको नेप्से ०.६० प्रतिशतले ओरालो लागेको थियो भने सेन्सेटिभ इन्डेक्स ०.२३ प्रतिशतले ओरालो लागेको थियो ।
आइतबार दिनभर ७१ लाख ८४ हजार २५४ कित्ता सेयर ३९ हजार ३७ पटक खरिदबिव्रmी हुँदा दुई अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब दुई करोड रुपियाँले कमी हो । बिहीबार ९३ लाख ८२ हजार ४४० कित्ता सेयर ५७ हजार ६४३ पटक खरिदबिव्रmी हुँदा तीन अर्ब ३९ करोड छ लाख ६० हजार ६०५ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।
आइतबार १९ करोड १३ लाख ११ हजार ३७२ रुपियाँ बराबरको सेयर कारोबार भएर शिवम सिमेण्ट्सको सर्वाधिक सेयर कारोबार भएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको १५ करोड ६९ लाख ४५ हजार ६४ रुपियाँ, माउण्टेन इनर्जीको नौ करोड ८४ लाख ९१ हजार ९८० रुपियाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको सात करोड ६२ लाख ७४ हजार ८०५ रुपियाँ र एसियन लाइफ इन्स्योरेन्सको सात करोड ५९ लाख ९८ हजार ८८१ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।
आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये बैंकिङ, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, जीवन बीमा, अन्य उपसमूह उकालो लागेका छन् भने बाँकी पाँच वटा उपसमूह ओरालो लागेका छन् । म्युचुअल फण्ड सर्वाधिक २.०६ प्रतिशतले उकालो लागेको आइतबार बैंकिङ, उपसमूह पनि १.३३ प्रतिशतले उकालो लागेको छ । यता जलविद्युत उपसमूह ०.७३ प्रतिशतले ओरालो लागेको छ ।