काठमाडौँ । नागरिक लगानी कोषले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । आइतबार सम्पन्न कोषको २८ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याएको प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १.३१ प्रतिशत नगद लाभांश स्वीकृत गरेको जनाइएको छ ।
सभामा कोष सञ्चालक समितिका अध्यक्ष डा. सूर्यबहादुर थापाले कोषमा सङ्कलित बचत रकमलाई राष्ट्रिय गौरवका आयोजना, पूर्वाधार विकास तथा उत्पादनमूलक क्षेत्र, कोषमा आबद्ध सहभागीलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटी एवं पुँजी बजारका विभिन्न औजारमा लगानी विविधीकरण गर्ने बताउनुभयो । कार्यव्रmममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको कारोबारलाई सूचना प्रविधिमैत्री बनाउँदै आगामी दिनमा कोष कारोबारलाई विस्तार गरिनेमा पनि उहाँले जोड दिनुभयो ।
साधारण सभामा प्रस्तुत विवरण अनुसार आव २०७९/८० को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम दुई खर्ब १४ अर्ब ७९ करोड ९६ लाख रुपियाँ पुगेको छ । उक्त अवधिमा कोषले दुई खर्ब १२ अर्ब ६४ करोड रुपियाँ लगानी गरेको छ ।
नागरिक लगानी कोषले सहभागीलाई नियमित ब्याजमा अत्तिरिक्त १.५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिस अनुसार उक्त निर्णय गरेको हो । आव २०७८/७९ को अन्त्यसम्ममा कोष मौज्दात रकम रहेका सहभागीलाई उक्त आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिने निर्णय भएको हो । यसभन्दा अघि पनि कोषले १.५ प्रतिशत थप प्रतिफल दिएको थियो ।