काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक बृद्धिदर हासिल गर्ने, मूल्यबृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गरिने बताउनुुभएको छ ।
संघीय संसद् प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बिहीबार बसेको बैठकमा उहाँले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुने स्पष्ट पार्नुभयो ।
पछिल्ला दिनमा बाह्य क्षेत्र सन्तुलित अवस्थामा रहेको, ब्याजदर घट्दो क्रममा रहेको, पर्याप्त तरलताको अवस्थालगायतका केही सकारात्मक सूचक देखिए पनि मूल्यबृद्धि नियन्त्रण हुन नसकेको, सञ्चित कोष घाटामा रहेको, कर्जा विस्तार सुस्ताएको लगायतका समस्या कायमै रहेको उहाँको भनाइ छ ।
गत आर्थिक वर्षका लागि राखिएको मूल्यबृद्धिको बाञ्छित सीमा सात प्रतिशत रहेकामा त्योभन्दा माथि नै रहने देखिएको भन्दै गर्भनर अधिकारीले भन्नुभयो – ‘‘सञ्चित कोष रू एक खर्ब ९३ अर्बले घाटामा छ । निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जाको बिस्तार घटेको छ ।”
अघिल्लो वर्षको तुलनामा अहिले बाह्य क्षेत्र सहज अवस्थामा पुगेको भन्दै उहाँले बजारमा माग घट्नु र लगानी विस्तार खुम्चिएका कारण कर्जाको माग घटिरहेको भएपनि अहिले निक्षेप र कर्जाको ब्याजदर निरन्तर घट्ने क्रममा रहेको बताउनुुभयो ।
अहिले बैंकिङ प्रणालीमा ८८ अर्ब ५४ करोड अधिक तरलता रहेको जानकारी दिंदै उहाँले गत जेठ मसान्तसम्ममा एक लाख ४७ हजार पाँच सय १० जनाले सहुलियतपूर्ण कर्जा लिएको बताउनुुभयो ।
गभर्नर अधिकारीले हाल चालु खाता घाटा ७० अर्ब रुपियाँ रहेको र बजारमा शिथिलता देखिएका कारण कर्जा असुलीमा समस्या भएको भन्दै अर्थतन्त्रलाई सन्तुलित अवस्थामा राख्न के–कस्ता उपकरण प्रयोग गर्ने भन्ने विषयमा राष्ट्र बैंकले उचित निर्णय लिने बताउनुुभयो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *