काठमाडौँ । समस्याग्रस्त सहकारी ओरेन्टल को–अपरेटिभ लिमिटेडमा एक लाखभन्दा कम बचत गरेकाले साउन १५ गतेपछि रकम फिर्ता पाउने भएका छन् ।
सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल सहकारीका एक लाखभन्दा कम बचत भएकालाई प्रमाणसहित साउन १५ गतेसम्म निवेदन पेस गर्न एक सूचना जारी गर्दै म्याद दिएको छ ।
समस्याग्रस्त घोषित ओरेण्टल को–अपरेटिभ लिमिटेडका साना बचतकर्ताहरु ९९ हजार ९९९ रुपियाँसम्मको मागदाबी लाई सक्कल बचत प्रमाण कार्यालयमा पेश गर्न सूचनामा भनिएको छ ।
मिति २०७९/०६/०७ मा नेपाल सरकारबाट समस्याग्रस्त घोषित ओरेण्टल को–अपरेटिभ लिमिटेडका बचतकर्ताहरु मध्ये ९९ हजार ९९९ रुपियाँसम्म मागदाबी भएका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने निर्णय भएको उक्त सूचनामा उल्लेख छ ।
“बचत फिर्ता लिने प्रयोजनका लागि यस समितिको कार्यालयमा यसपुर्व अनलाईन मार्फत मागदाबी दिनुभएका ९९ हजार ९९९ रुपियाँसम्म बचत मागदाबी भएका बचतकर्ताहरुले बचत प्रमाणको सक्कल, बचतकर्ताको मृत्यु भैसकेकोमा हक प्रमाणीत हुने कागजात(मृत्यु दर्ता, नाता प्रमाणीत प्रमाणपत्र, स्थानीय तहको सिफारिस) साउन १५ सम्ममा यस कार्यालयमा पेश गर्नुहुन अनुरोध छ । यो सूचना सम्बन्धित मागदाबीकर्तालाई समेत गरिएको छ ।” कार्यालयले जारी गरेको सूचनामा भनिएको छ । कार्यालयले आफ्नो वेबसाइटमा निवेदनको ढाँचा समेत राखिदिएको छ ।
साथै ओरेण्टल को–अपरेटिभ लिमिटेड/सञ्चालक/ऋणिहरुको रोक्का रहेको अचल सम्पत्तिको लिलामको प्रक्रियाबाट रकम असुल गरी एक लाख र सो भन्दा माथिका बचत मागदाबीकर्ताहरुको रकम अर्को चरणमा वितरण गरिने कार्यालयले जनाएको छ ।
ओरेन्टल सहकारीका पाँच सय २८ बचतकर्ताको एक लाखभन्दा कम बचत रहेको अभिलेख समितिको कार्यालयमा रहेको बताइएको छ ।
सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम सरकारले १२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । समस्याग्रस्त घोषणा भएका सहकारीका सञ्चालक समिति खारेज गरी सहकारी ऐनअनुसार ती सहकारीको व्यवस्थापन गर्ने अधिकार समितिलाई दिइएको छ । वि.सं २०७४ कात्तिक २० गते सरकारले ओरेन्टललाई पहिलोपटक समस्याग्रस्त घोषणा गरेको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *