काठमाडौँ । ओरालो लय समाएको सेयर बजार साढे २१ सयको विन्दु नजिक पुगेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएसँगै उच्च अंकले सुधारिएको सेयर बजार अर्काे दिनदेखि निरन्तर ओरालो लागिरहेको छ । दुई दिनमै बजार ६२ अंकले ओरालो लागेको छ भने कारोबार रकममा पनि गिरावट आएको छ ।
मङ्गलबार सेयर बजारमापक नेप्से परिसूचक ३६.१९ अङ्कले ओरालो लागेर २१६४.३१ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ७.६२ अंकले ओरालो लागेर ४११.१६ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा तेस्रो दिनको नेप्से १.६४ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स १.८१ प्रतिशतले ओरालो लागेको छ । सोमबार पनि नेप्से २६.६६ अङ्कले ओरालो लागेर २२००.५० को बिन्दुमा पुगेर रोकिएको थियो ।
मङ्गलबार दिनभर ७७ लाख १६ हजार २७७ कित्ता सेयर ५३ हजार ५७० पटक खरिदबिव्रmी हुँदा दुई अर्ब ९१ करोड सात लाख ३२ हजार ७३२ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ८२ करोड रुपियाँले कमी हो ।
सोमबार दुई करोड नौ लाख ७९ हजार ८८७ कित्ता सेयर ७४ हजार १६१ पटक खरिदबिव्रmी हुँदा चार अर्ब ७३ करोड ७६ लाख आठ हजार ८१० रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।
मङ्गलबार १५ करोड २७ लाख ७९ हजार ७४ रुपियाँ बराबरको सेयर कारोबार भएर सोल्टी होटल लिमिटेडको सर्वाधिक सेयर कारोबार भएको छ भने शिवम सिमेन्टको १० करोड ३९ लाख ५७ हजार ७८६ रुपियाँ, ग्लोबल आइएमई बैंकको सात करोड ८२ लाख ८३ हजार २८५ रुपियाँ, एभरेष्ट बैंकको सात करोड ६२ लाख पाँच हजार सात सय रुपियाँ र कुमारी बैंकको सात करोड ४६ लाख दुई हजार ८३९ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।
मङ्गलबार कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा पर्यटन बाहेक बाँकी १२ उपसमूहको सूचक ओरालो लागेको छ । बैंकिङ उपसमूहको सूचक सर्वाधिक २.७५ प्रतिशतले ओरालो लागेको मङ्गलबार विकास बैंक २.०८ प्रतिशतले ओरालो लागेको छ । यता होटल तथा पर्यटन उपसमूहको सूचक १.२२ प्रतिशतले उकालो लागेको छ ।