नारायण खनाल
काठमाडौँ । छ महिनामा सात खर्ब ३३ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार छ महिनामा सात खर्ब ३३ अर्ब २२ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको हो ।
समिक्षा अवधिमा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २४.३० प्रतिशतले बढेको थियो । यता, अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह पनि २२.६० प्रतिशतले बढेर पाँच अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
यसअवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख सात हजार ९७० जना रहेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख ३५ हजार ४३५ जना रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा दुई लाख ७५ हजार ६४३ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए ।
चालु खाता एवम् शोधनान्तर स्थिति बचतमा
समिक्षा अवधिमा चालु खाता एक खर्ब ६१ अर्ब ६२ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब ५७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब २१ करोडले बचतमा रहेको छ ।
यस्तै समीक्षा अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९२ अर्ब १५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ७४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब छ करोडले बचतमा रहेको छ ।
पुँजीगत ट्रान्सफर ३० प्रतिशतले कमी आई तीन अर्ब ११ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी चार अर्ब ५३ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर चार अर्ब ४३ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाखले धनात्मक रहेको थियो ।
कुल विदेशी विनिमय सञ्चिति
चालु आर्थिक वर्षको २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले बृद्धि भई २०८० पुस मसान्तमा १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० पुस मसान्तमा १६.९ प्रतिशतले बृद्धि भई १३ अर्ब ६९ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० पुस मसान्तमा १८.९ प्रतिशतले बृद्धि भई १६ खर्ब अर्ब २३ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० पुस मसान्तमा ११.८ प्रतिशतले बृद्घि भई दुई खर्ब १६ अर्ब ३५ करोड कायम भएको छ । २०८० पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।
उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत
चालु आर्थिक वर्षको पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत रहेको छ ।
चालु आवको पुस महिनामा घ्यू तथा तेल, तरकारी, मासु तथा माछा र यातायात उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क घटेको छ । मरमसला र चिनी तथा चिनीजन्य वस्तु उप–समूहको सूचकाङ्कमा समेत क्रमशः कमी आइरहेको अवस्था छ । वार्षिक बिन्दुगत आधारमा २०८० पुस महिनामा आयात मूल्य सूचकाङ्क, तलब तथा ज्यालादर र थोक मूल्य सूचकाङ्कको बृद्धि दरमा समेत कमी आएको छ । फलस्वरुप समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा तुलनात्मक रुपमा कम दबाब पर्न गएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *