नारायण खनाल
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनामा कुल आन्तरिक कर्जा २.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० पुस मसान्तमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ८.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० पुस मसान्तमा यस्तो दाबी २२.१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दाबी ३.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० पुस मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.८ प्रतिशतले बढेको छ ।
निक्षेप परिचालन झण्डै चार खर्बले बढ्यो
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप तीन खर्ब ७७ अर्ब सात करोड (६.६ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.२१५ अर्ब १४ करोड (४.२ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको छ ।
चालु आवको पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.८ प्रतिशत, २६.८ प्रतिशत र ५९.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.८ प्रतिशत, २५.६ प्रतिशत र ६०.३ प्रतिशत रहेको थियो । २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.६ प्रतिशत रहेको छ । २०७९ पुस मसान्तमा पनि यस्तो निक्षेपको अंश ३६.६ प्रतिशत नै रहेको थियो ।
कर्जा प्रवाह झण्डै दुई खर्बले बढ्यो
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब ९२ अर्ब ६४ करोड (४.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब ३७ अर्ब ३३ करोड (३.० प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ । २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.९ प्रतिशत र ३५.१ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.० प्रतिशतले, विकास बैंकहरुको ४.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २.४ प्रतिशतले बढेको छ । २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ११.४ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.७ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०७९ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.२ प्रतिशत र ६७.२ प्रतिशत रहेको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *