अगष्ट 16 , 2026 , अक्कल तामाङ

न्यूयोर्क । तामाङ सोसाइटी अफ अमेरिका (TSA) को वार्षिक कार्यक्रमअन्तर्गत आज न्यूयोर्कको कोरोना पार्कमा BBQ कार्यक्रम उत्साह र उल्लासका साथ सम्पन्न भएको छ। समुदायभित्र आपसी सद्भाव, सहकार्य र एकताको भावना अझ मजबुत बनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा करिब तीन–चार सय तामाङ समुदायका सदस्यहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधि र अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणको औपचारिक कार्यक्रममा अतिथिहरूको स्वागत, शुभकामना तथा मन्तव्य प्रस्तुत गरिएको थियो भने दोस्रो चरणको अनौपचारिक कार्यक्रममा BBQ, खानपान, नाचगान, मनोरञ्जन तथा बिङ्गो चिठ्ठा लगायतका गतिविधि आयोजना गरिएको थियो।

पछिल्लो समय तामाङ सोसाइटी अफ अमेरिकाभित्र देखिएका विभिन्न मतभिन्नता र धारलाई संवाद, सहकार्य र आपसी सद्भावमार्फत सकारात्मक दिशामा लैजाने वातावरण निर्माण गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको धारणा थियो।

 

कार्यक्रममा कुनै पक्ष वा समूहलाई केन्द्रमा नराखी “समुदाय सबैको साझा हो, संस्था सबैको हो” भन्ने भावनालाई प्राथमिकता दिइएको देखिन्थ्यो। एउटै ठाउँमा भेला भएर रमाइलो गर्ने, अनुभव आदान–प्रदान गर्ने र एकअर्कासँग आत्मीयता बढाउने अवसरले समुदायमा सकारात्मक ऊर्जा थपेको थियो।

मामाभान्जा ग्रुपको उत्कृष्ट व्यवस्थापन

कार्यक्रमको दोस्रो चरणको व्यवस्थापन तथा अतिथि सत्कारको जिम्मेवारी पाएको मामाभान्जा ग्रुपले आफ्नो जिम्मेवारीलाई प्रभावकारी रूपमा पूरा गरेको थियो। ग्रुपका सदस्यहरूले कार्यक्रमअघि देखि नै तयारीमा जुटेर उपस्थित सबैका लागि खानपान, BBQ तथा मनोरञ्जनको राम्रो व्यवस्था गरेका थिए।


अतिथिहरूको स्वागतदेखि खानपान र मनोरञ्जनसम्म कुनै कमी हुन नदिने प्रयास गरिएको थियो। कार्यक्रममा सहभागीहरूलाई आत्मीय वातावरणमा स्वागत गर्दै ग्रुपले आफ्नो जिम्मेवारीलाई सामूहिक रूपमा सफल बनाएको थियो।आफ्नो समूहले पाएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न भएको र उपस्थित अतिथिहरू खुसी भएकोमा मामाभान्जा ग्रुपका सदस्य जोन लामाले खुशी व्यक्त गर्दै कार्यक्रम सफल बनाउन अहोरात्र खटिने सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिएका थिए।

बिङ्गोले थप्यो उत्साह

अनौपचारिक चरणमा आयोजना गरिएको बिङ्गो चिठ्ठा कार्यक्रमको अर्को आकर्षण बनेको थियो।सस्थाको प्रतिनिधि साजोन थोकर तामाङले सन्चालन गर्नु भएको बिङ्गोमा सहभागीहरूबीच उत्साह र रमाइलो वातावरण देखिएको थियो। त्यससँगै नाचगान र सामूहिक BBQ ले पार्कको वातावरणलाई थप जीवन्त बनाएको थियो।

कार्यक्रमको सभापतित्व तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष तुलबहादुर तामाङले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव राजु तामाङले गर्नुभएको थियो भने उपाध्यक्ष उमा तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा उपस्थित समुदायका सदस्य तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले एकअर्कासँग भेटघाट गर्दै आगामी दिनमा तामाङ समुदायलाई अझ संगठित, समावेशी र एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको सबैभन्दा सकारात्मक पक्ष भनेको मतभिन्नता भए पनि सम्बन्ध र समुदायलाई कमजोर हुन नदिने सन्देश दिनु रहेको सहभागीहरूको बुझाइ थियो। विचार फरक हुन सक्ने भए पनि साझा पहिचान, संस्कृति, भाषा र भावी पुस्ताको हितका लागि सबै मिलेर अघि बढ्नुपर्ने भावना कार्यक्रमभरि देखिएको थियो।

आजको BBQ कार्यक्रम केवल खानपान र मनोरञ्जनमा सीमित नभई “विचार फरक हुन सक्छ, तर मन र समुदाय जोडिन सक्छ” भन्ने सकारात्मक सन्देश दिने अवसरसमेत बनेको थियो।

तामाङ सोसाइटी अफ अमेरिकाको आगामी कार्यक्रमहरूमा पनि यस्तै समावेशी सहभागिता, पारस्परिक सम्मान, संवाद र सहकार्य कायम रहोस् भन्ने अपेक्षा सहभागीहरूले व्यक्त गरेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *